पूर्वि नवलपरासी हुप्सेकोटमा रहेको फलाम खानि बाट देश कायापलट

पूर्वी नवलपरासी — हुप्सेकोटमा रहेको धौवादी फलामखानीबाट निस्कने फलामको परिमाण यकिन गरी कारखाना स्थापना गर्न खानी तथा भूगर्भ विभागले प्रक्रिया अघि बढाएको छ । चिनियाँ प्रयोगशालाले यो खानीमा औद्योगिक उत्पादन गर्न सकिने फलाम रहेको जानकारी गराएलगत्तै विभागले प्रक्रिया अघि बढाएको विभागका जियोलजिस्ट नारायण बाँस्कोटाले जानकारी दिए ।

पहिलो चरणमा पूर्वपश्चिम १० किलोमिटर क्षेत्रभित्रको फलामको परिमाण यकिन गरिनेछ । त्यसका लागि ५ फरकफरक स्थानमा १ सयदेखि ३ सय मिटरसम्म ड्रिलिङ गरेर परिमाण यकिन गर्न टेन्डर आह्वान यसै साता हुनेछ । आगामी असोजबाट ड्रिलिङको काम सुरु गरेर विभागले ६ महिनाभित्र परिणाम पत्ता लगाउने उनले बताए । बाँस्कोटाका अनुसार दोस्रो चरणमा फलामखानी क्षेत्रको जग्गा अधिग्रहण र कारखाना स्थापनाका लागि जग्गा अधिग्रहणको काम अघि बढ्नेछ । फलाम खानी रहेको हुप्सेकोट आसपासको क्षेत्र र कावासोती नगरपालिका–१ मा रहेको हात्तीखोर क्षेत्रमा कारखाना राख्न उपयुक्त हुने विज्ञहरूको प्रारम्भिक प्रतिवेदन आएको छ । परिमाण यकिन हुनासाथ दुवै काम (खानी क्षेत्र र कारखाना स्थापना) अघि बढाउने गरी विभाग लागेको छ । नेपालमा अहिलेसम्म पत्ता लागको सबैभन्दा ठूलो फलाम खानी भएकाले यसले स्थानीयमा उत्साह जगाएको छ ।
फलामको परिमाण यकिन भइसकेपछि हालको बजार मूल्यसँग प्रतिस्पर्धा गर्न सक्ने लागतबारे काम सुरु हुनेछ । यहाँबाट दैनिक ८ सयदेखि १२ सय टनसम्म फलाम निकाल्न सकिने भन्दै प्राविधिकले काम थालेका छन । त्यति परिमाणमा फलाम निकाल्दा यो मझौला उद्योग हुनेछ । प्रारम्भिक अनुमानमा २ करोड टन फलाम निकाल्न सकिने देखिएको छ । जमिनको कति मुनिसम्म फलाम छ भन्ने जानकारी ड्रिलिङबाट पत्ता लाग्नेछ ।

कारखाना सुरु भएपछि भारतकाट आयात हुने कच्चापदार्थको २५ देखि ३० प्रतिहत फलामको माग घट्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ । भारतीय बजारसँग मूल्यमा प्रतिस्पर्धा गर्न र लागत घटाउन भने मुख्य चुनौती छ । भारतमा रहेका ठुला स्टिल कारखानासँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले उद्योग र अर्थ मन्त्रालयका विज्ञको टोलीले लागत मूल्यबारे काम अघि बढाएको विभागको भनाइ छ ।
सरकारले धौवादी फलाम खानी कम्पनी लिमिटेड गठन गरे पनि संयोजक शोभाकान्त पौडेल सचिवमा बढुवा भएर कर्णाली प्रदेशमा गएकाले हाल इन्जिनियर कृष्णदेव झालाई प्रमुख कार्यकारी अधिकृत तोकेर काम अघि बढाएको छ । समितिमा विभाग, उद्योग मन्त्रालय, अर्थ मन्त्रालय र भौतिक मन्त्रालयका एकएक जना प्रतिनिधि रहने व्यवस्था छ । निजी क्षेत्रको प्रतिनिधित्व गराउने र सेयर निष्कासन गर्ने सोचमा सरकार रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दियो । गण्डकी प्रदेश सरकारले पनि केही प्रतिशत सेयर लगानी गर्ने भएको छ ।

फलामखानीबाट औद्योगिक उत्पादन चाँडै सुरु हुने खबरले आफूहरू उत्साहित भएको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले बताइन् । यसले हुप्सेकोटको विकासको ढोका खोल्ने उनको भनाइ छ । फलाम खानी उत्खनन र औद्योगिक उत्पादनका लागि गाउँपालिकाले प्राथमिकतासाथ काम गरिरहेको उनले बताइन् ।

यसैबीच, खानीबाट फलाम र स्टिल निकाल्न सकिने चिनियाँ प्रयोगशालाले प्रमाणित गरेको छ । गत भदौमा खानीबाट ५ टन फलामको धाउ (नमुना) परीक्षणका लागि चीन पठाइएको थियो । परीक्षणमा मेटालर्जिकल (फलाम बन्छ कि बन्दैन भन्ने जाँच) रिपोर्ट उत्साहजनक पाइएको विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिए । ‘अब खानीमा फलामको मात्रा कति प्रतिशत छ भन्ने रिपोर्ट यसै साता आउँछ । त्यसपछि उत्पादन प्रक्रिया अघि बढ्छ,’ उनले भने । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा विभिन्न शीर्षकमा (बाटो, बिजुली, सम्भाव्यता अध्ययनका लागि पर्याप्त बजेट विनियोजन गरेको छ । साढे २ वर्षभित्र त्यहाँबाट फलाम उत्पादन सुरु हुने घिमिरेले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here